गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ ।

सोमबार जेन–जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । काँग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

सुझाव सुनेपछि गृहमन्त्री राजीनामा दिने मनस्थितिमा पुगेका थिए । पदाधिकारी बैठकपछि मन्त्रिपरिषद बैठकमा भाग लिन बालुवाटार पुगेका गृहमन्त्रीले त्यही राजीनामा बुझाएका छन् । उनले राजीनामा बुझाए पछि यो घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने आवाज सामाजिक सञ्जालमा उठेको छ । राजीनामा दिएर घटनाबाट उन्मुक्ति दिन नमिल्ने र गृहमन्त्री लेखकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग जबरजस्त उठाइएको छ।

गृहमन्त्रीसँगै यो घटनामा जोडिएका सबै सरकारी निकायमा रहेकाले राजीनामा दिनुपर्ने र ज्यान मार्ने उद्योगमा कारबाही हुनुपर्ने माग उठाइएको छ ।

Translate »