जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा स्थिति नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मी र प्रदर्शनमा रहेकाहरुबिच झडपको अवस्था सिर्जना भएको र त्यसक्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । घाइतेमध्ये १७ जनाको काठमाडौंमा र २ जनाको सुनसरीमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ। यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ।

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

 

 

Translate »