कर्णालीका आधा दर्जन स्थानमा सडक अवरुद्ध

सुर्खेत । बाढीपहिरोका कारण कर्णालीका आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।

कर्णाली करिडोरको हुम्लाको खार्पुनाथ–१, सुनाखाँडामा हिजो साँझदेखि नै पहिलोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख (डीएसपी) शंकर पोखरेलले जानकारी दिए । उनले डोजर लगाएर पहिरो हटाउने काम भईरहेको बताए ।

त्यस्तै नाम्खा गाउँपालिकाको–२ र सिमकोट गाउँपालिका–६, मा सडक निर्माणका क्रममा केही समयका लागि सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीकरिडोरको रुकुम पश्चिम–डोल्पा सडकखण्ड अन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको सिमखेतमा र आठविसकोट नगरपालिकाको घारीखोलामा पानीको बहाव बढेपछि यातायातका सवारी साधन गुड्न सकेका छैनन् ।

त्यस्तै आठविसकोट नगरपालिकाको रिडिघाटमा पहिरोले सडक अवरुद्ध भएको छ । अहिले विभिन्न ठाउँहरुमा डोजर र स्काभेटर लगाएर पहिरो पन्छाउने कार्य जारी राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) केदार खनालले जानकारी दिए ।

उनले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका छलगाडमा पानीको बहाव बढेपछि यातायातका सवारी साधन सञ्चालनमा सकस भईरहेको बताए । त्यस्तै हुम्लाको पैमा खोलाको बहाब बढ्दा पनि सडक अवरुद्ध बनेको छ ।

Translate »