प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो, यसको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको दाबी गरेका छन् ।

संविधान दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । आन्दोलनमा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न पनि सरकारले आदेश नदिएको उनले प्रष्ट पारेका छन् ।

गत भदौ २३ गते शुरु भएको जेन–जी आन्दोलनको पहिलो दिन सुरक्षाकर्मीको गोली लागेर २१ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनी गरिएको थियो । त्यस्तै, नेताका निजी निवास र व्यावसायिक भवनमा लुटपाटसमेत भएको थियो । उक्त आन्दोलनमा परी अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको छ ।

संविधान दिवसको अवसरमा उनले शुभकामना सन्देशमार्फत सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न सबै पुस्ताका नेपालीलाई एकजुट हुन आह्वान गरेका छन् ।

‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ। मेरो सबैमा अपील छ, संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं,’ उनले लेखेका छन् ।

Translate »