२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, स्थित पाडुलेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दसैं मनाउन बाँकेबाट अछामतर्फ जाँदै गरेका कोहलपुर नगरपालिका–२, बाँकेका मोटरसाइकल चालक १८ वर्षीय ऋतिक शाहीको उपचारका क्रममा आज दिउँसो प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो ।

छिन्चुबाट सुर्खेततर्फ आउँदै गरेको ना.५ ख ५६०८ नम्बरको खाली ट्रकले लु.प्र.०३००१ प–३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका अर्का एक युवक अछामको पञ्चदेवल विनायक नगरपालिका–४, का १९ वर्षीय दमन शाही गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेको बायाँ खुट्टा र छातीमा गम्भीर चोट लागेका कारण अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

उनले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार मृतक र घाइते आफन्त हुन् र दसैं मनाउन पुर्ख्यौली घर अछाम जाँदै गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार
Translate »