कर्णालीमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभरी लागु हुने गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरीले दसैं–तिहार तथा छठ पर्वमा बढ्दो सुरक्षा जोखिमलाई ख्याल गर्दै चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको हो ।

प्रदेशका दश वटै जिल्लामा कमान्ड सेन्टर स्थापना गरी ५ सय ८५ वटा मोबाइल, पेट्रोलिङ, ‘क्विक रेस्पन्सीविलिटी टिम (क्यूआरटी)’ मोटरसाइकललगायत गस्ती परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक) केदार खनालले जानकारी दिए ।

उनले कर्णालीका सीमा नाका संवेदनशील क्षेत्रमा कुकुर परिचालन गरी चेकजाँच गर्नेदेखि ड्रोनबाट निगरानी गर्ने योजना कार्य अघि सारिएको बताए । उनका अनुसार पहिलो चरणमा चाडपर्व लक्षित सुरक्षा योजनाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीको खोजतलाससँगै विभिन्न प्रहरी इकाईबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठा बरामद कार्यलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ छ । उनले पछिल्लो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सीसीटिभी, राडार गण लगायत उपकरणमार्फत समेत सुरक्षा निगरानी बढाउन थालिएको बताए ।

उनका अनुसार प्रहरीले यात्रु सुरक्षाका लागि ४३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्नुका साथै ४ सय १४ सम्वेदनशील स्थानमा प्रहरी टोली खटाइएको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरु हुन नदिन सबै वडा र टोलमा प्रहरी परिचालन गर्न लागिएको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा गस्ती, हाइवे गस्ती, पैदल गस्तीलाई निरन्तरता दिँदै प्रदेश भित्रने मुख्य नाकाहरु चेकजाँचलाई कडाई पारिएको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरु, धेरै भीडभाड हुने क्षेत्रहरुमा २४ सैं घण्टा निगरानी बढाईएको बताउँदै उनले चाडपर्वमा जुवातास, पटकालगायत बिस्फोटक पदार्थको बिक्रीवितरण तथा प्रयोग रोक्नेगरि साधा पोशाकमा प्रहरीहरु परिचालन गरिएको बताए ।

मुख्यगरी प्रदेशका विभिन्न स्थानमा रहेका बसपार्कहरुमा हेल्प डेस्क स्थापना गरी चाडपर्वका नाममा यात्रुसँग बढी भाडा असुल्ने सवारी साधनहरु माथि समेत निगरानी बढाईएको उनको भनाइ छ ।

Translate »