२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

आन्दोलनमा क्षति पुगेका उद्योगदेखि व्यावसायिक प्रतिष्ठानसम्मलाई कर सहुलियत र सुविधा



काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योगदेखि व्यावसायिक प्रतिष्ठानसम्मलाई सरकारले कर सहुलियत र सुविधा दिने भएको छ ।

अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा त्यस्ता उद्योग, व्यवसाय र व्यावसायिक प्रतिष्ठान पुनर्स्ठापना एवम् सञ्चालनका लागि आवश्यक सामान आयात गर्दा लाग्ने भन्सार महशुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छूट दिन लागेको हो ।

आन्दोलनका क्रममा क्षति भएका तारे होटलले बीमा सर्भेयरको प्रतिवेदनबाट क्षति यकिन भएका सामान पुनर्स्थापना तथा सञ्चालन गर्न आवश्यक वस्तु आयात गर्दा ५ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने तय गरेको छ ।

बीमा नभएका तर विक्री गर्न बाँकी रहेकै अवस्थामा आन्दोलनका क्रममा नोक्सान भएका सामग्रीको मूल्य अभिवृद्धि कर शून्य गर्ने घोषणा गरिएको छ ।

विज्ञप्तीमा आन्दोलनका क्रममा क्षति भएका व्यवसायको बढीमा ५० प्रतिशत बीमा रकम अग्रिम रूपमा भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसको दाबी भुक्तानीको लागि तत्काल सर्भेयर खटाई क्षति यकिन गर्नुपर्ने छ ।

आन्दोलनको क्रममा प्रत्यक्ष रूपमा प्रभावित उद्योगी, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका ऋणीले तिर्नुपर्ने साँवा तथा ब्याजको भुक्तानी गर्नुपर्ने अवधि थप गर्न मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

निर्देशनबमोजिम ती संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउनका लागि आधार दरमा बढीमा शून्य दशमलव ५ प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्नेछ ।

गत भदौ २३ गते शुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सरकारी संरचनासँगै व्यावसायिक भवनमा तोडफोड, आगजनी गरिएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार
Translate »