

सुर्खेत । कार्यस्थलमा हुनसक्ने लैङ्गिक हिंसा तथा यौनजन्य दुर्व्यवहार न्यूनिकरणका लागि सुर्खेतमा गुनासो सुनुवाइ समिति गठन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशले कार्यस्थलमा हुन सक्ने लैङ्गिक हिंसा तथा दुर्व्यवहार रोकथाम न्यूनिकरण गर्ने उद्देश्यले विहीबार सुर्खेतमा तीन सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरेको हो ।
गुनासो सुनुवाई समितिको संयोजकमा वीरेन्द्रनगर–१२, मा रहेको सुरक्षा ग्याभिन वायर इण्डष्ट्रिज प्रालिका व्यवस्थापक हेमराज शर्मा तथा सदस्यमा कर्मचारी प्रतिनिधिका तर्फबाट भुवन घर्ती र स्वतन्त्र व्यक्तिका तर्फबाट वीरेन्द्रनगर–९, का पर्शुराम जैसी चयन भएका छन् ।
गठित समितिले कार्यस्थलमा देखिन सक्ने लैङ्गिक विभेद, हिंसा, दुर्व्यवहार वा अन्य गुनासोलाई व्यवस्थित ढङ्गले सुनुवाइ गर्ने, छानबिन गरी समाधानका लागि पहल गर्ने र पीडितलाई न्याय दिलाउने वातावरण निर्माण गर्नु रहेको छ।
‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कार्यस्थललाई सुरक्षित, मर्यादित र महिला–पुरुष सबैका लागि समान अवसरयुक्त वातावरण बनाउन यस्ता पहल अनिवार्य रहेको बताए ।

उनले भने, ‘कर्मचारीको समस्या र आवाज सम्बोधन गर्न आन्तरिक संयन्त्र आवश्यक हुन्छ । यस्तो समितिले कर्मचारीबीच विश्वासको वातावरण र उद्योगको प्रतिष्ठा दुबैलाई मजबुत बनाउँछ ।’
समितिको सक्रियताले कार्यस्थलमा देखिने सम्भावित हिंसा वा दुर्व्यवहारलाई न्यूनिकरण गर्ने मात्र नभई पीडितलाई न्याय दिलाउन, सुरक्षित बनाउँदै भेदभावमुक्त कार्यस्थल सिर्जना गरि कर्मचारीको मनोबल र उत्पादनशीलता दुवै बढ्ने उनले उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सहभागिहरुले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन यस किसिमका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महासंघ कर्णाली प्रदेशका अध्यक्ष शाही, महासंघका सदस्य तथा गैरसरकारी संस्था समन्वय समिति संयोजक प्रेम भण्डारी र कार्यकारी निर्देशक महेशकेशर खनाल लगायतको सहभागिता रहेको थियो ।













