वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौ । नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको छ ।

उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो ।

जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विजय हो । नेपालले यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार ९ हार बेहोरेको थियो ।

नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ । नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए ।

उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलेको हो । अर्को सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तरराष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।

 

Translate »