सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, २ जना घाइते


सल्यान । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ बाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट–३, चोरखोलामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी (प्रहरी निरीक्षक) बाबुराम बस्नेतका अनुसार मृत्यु हुनेमा बाँफिकोट–५, का ६८ वर्षीया पबी केसी, ३० वर्षीय शशिधर केसी र २७ वर्षीय प्रकाश केसी रहेका छन् ।
लु २ ख ६५०२ नम्बरको गाडी आइतबार बिहान करिब ४ बजे सडकदेखि ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो । गाडीमा पाँचजना सवार रहेका थिए ।

दुर्घटनामा घाइते भएका बाँफिकोट–५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसीलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थामा नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । मृतक र घाइते एउटै वडाका रहेको प्रहरीको भनाइ छ ।

