तालिवानले इन्टरनेट काटेपछि अफगानिस्तानमा दोस्रो दिन पनि सञ्चार ठप्प

काबुल (अफगानिस्तान) । तालिवान अधिकारीहरूले फाइबर अप्टिक लाइन काटेपछि अफगानिस्तानमा लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भएको छ।
महिनाको सुरुवातमै ‘भाइस नियन्त्रण’ गर्ने भन्दै केही प्रान्तमा उच्चगतिको इन्टरनेट जडान बन्द गरिएको थियो । तर सोमबार रातिसम्म इन्टरनेट र मोबाइल सेवा क्रमशः कमजोर हुँदै सामान्य स्तरको एक प्रतिशतभन्दा तल झरेको इन्टरनेट वाचडग संस्था नेटब्लक्स ले जनाएको छ।

सन् २०२१ मा तालिबान सत्तामा आएपछि पहिलोपटक देशव्यापी रूपमा यति ठूलो स्तरमा सञ्चार अवरोध भएको हो । काबुलका व्यापारी नजीबुल्लाहले भने, ‘हामी फोन र इन्टरनेट बिना अन्धा झैं छौं, हाम्रो व्यवसाय पूरै प्रभावित भएको छ ।’

एएफपीलाई एक सरकारी अधिकारीले फाइबर काटिएको र यसले करिब नौ हजार दूरसञ्चार स्तम्भ बन्द गरेको जानकारी दिएका छन् । उनका अनुसार ब्ल्याकआउट अर्को सूचना नआएसम्म जारी रहनेछ । यस अवरोधले बैंकिङ, भन्सारदेखि सम्पूर्ण प्रशासनिक काममा गम्भीर असर परेको छ । विदेशमा रहेका अफगानीहरूले पनि परिवारसँग सम्पर्क टुटेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत वर्ष मात्रै काबुल सरकारले ९ हजार ३५० किलोमिटर लामो फाइबर अप्टिक नेटवर्कलाई राष्ट्रिय प्राथमिकता घोषणा गरेको थियो । अमेरिकी समर्थित अघिल्लो सरकारले निर्माण गरेको सो पूर्वाधारले अफगानिस्तानलाई विश्वसँग जोड्ने अपेक्षा गरिएको थियो । –रासस/एएफपी

Translate »