कर्णाली प्रदेश प्रहरी कार्यालयमा मौलो पूजा


सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) माधवप्रसाद श्रेष्ठले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा आज कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा महानवमीको अवसरमा निशान तथा मौलोपूजा कार्यक्रम गरेका छन् ।
उनले पूजाअर्चना तथा सङ्कल्प पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी कर्मचारीलाई पगरी तथा नगद प्रदान गरे । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतसहित कर्मचारीहरुले मौलो परिक्रमा गरेका थिए । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।


नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ ।


