‘हुलाक सेवालाई समय सापेक्ष परिष्कृत गरिनुपर्नेमा जोड’

सुर्खेत । हुलाक सेवालाई समय सापेष परिष्कृत गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

विश्व हुलाक दिवसका अवसरमा हुलाक निर्देशनालय सुर्खेतले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस सरोकारवालाले हुलाक सेवालाई बद्लिँदो युग अनुरुप परिष्कृत गर्न आवश्यक रहेको औल्याएका हुन् ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले हुलाक सेवाको आवश्यकता अझै बढेकाले हुलाक सेवालाई समयानुसार परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए । उनले हुलाक सेवालाई छिटो, छरितो र विश्वासिलो बनाउँदै सेवाग्राहीको आवश्यकतामा आधारित प्रविधिमैत्री सेवाहरुलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले परिवर्तित समयमा हुलाकले दिँदै आएका सेवा परिवर्तन गर्दै लगेको बताए । उनले सूचना प्रविधिको विकासले फड्को मारे पनि हुलाक सेवाको प्रभावकारिता कायमै रहेको जनाए । हुलाकले गर्ने व्यक्तिगत काम कमभए पनि बैङ्क तथा वित्तीय संस्थाको कामको चाप बढेको उनको भनाइ थियो ।

हाल हुलाकले स्वास्थ्यका रिपोर्ट बोक्ने, राहदानी पु¥याउने, राष्ट्रिय परिचय पत्र र मालपोतको श्रेस्ता बोक्ने लगायतका काम गरिरहेको छ । हुलाकका सात वटै प्रदेशमा निर्देशनालय र ७ सय ५३ वटै स्थानीय तहमा स्थानीय हुलाक कार्यालय रहेका छन् ।

दिवसकै अवसरमा हुलाक निर्देशनालयले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताका विजयी छात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै निर्देशनालयले उत्कृष्ट कर्मचारीसँगै हालै सेवानिवृत्त भएका कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

Translate »