‘माओवादीका संयोजक दाहालले भने, ‘आफ्नै बोली ज्योतिषिको जस्तो लाग्छ, ठ्याक्कै मिल्यो’


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले लाखौं जनताले सिंहदरबार घेर्छन् भनेर बोलेको आफ्नै बोली ठ्याक्कै मिलेको बताएका छन् ।
आज काठमाडौंमा सम्पादकहरुसँगको संवादका क्रममा उनले प्रमुख तीन पार्टीका तीन नेता उस्तै भनेर आफूलाई पनि एउटै डालोमा मिसाएको भन्दै चित्त दुखाए ।
‘एउटा भाष्य बनेको देख्दा हामीलाई चित्त त दुखिराखेकै छ । तीन पार्टी तीन नेता उस्तै हुन् । यिनलाई चाहिँ । भनेजस्तै भाषा बनाइएको छ,’ उनले भने, ‘हामीलाई चित्त त दुखेकै छ । सुशासनको पक्षमा सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउने पनि उस्तै, तीनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने उस्तै ।’

आफूले सडकमा गएर जनता सडकमा उत्रिने कुरा पहिल्यै भनेको पनि उनले स्मरण गरे । ‘सडकमा गएर खबरदार यस्तो हुनेवाला छ है केही समयपछि,’ उनले भने ।
अहिले ती भिडिओ हेर्दा ठ्याक्कै मिलेको दाहालले बताए । उनले भने, ‘अहिले म आफ्नै विगतका मन्तव्यहरु यसो सुन्यो भने ज्योतिषिले भन्या जस्तो । ठ्याक¥याक्कै जेन भनेको त्यही भएजस्तो लाग्या छ ।’
संयोजक दाहालले अहिले पनि केही राजनीतिक दलका नेतामा अहङ्कार देखिएकामा आश्चर्य प्रकट गर्दै यसअघि गरेका कमीकमजोरीलाई सच्याएर जनतामाझ जानुको विकल्प राजनीतिक पार्टीहरुसँग नरहेको बताए ।
जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी पार्टीको अध्यक्ष पदबाट संयोजकका रुपमा आफू रुपान्तरित भएको स्पष्ट गर्दै उनले आवश्यक परे संयोजकबाट पनि पछि हट्न तयार रहेको जनाए ।

