सुर्खेतको चौकुनेका युवकको कैलालीमा घाँटी रेटी हत्या, टाउको बोकेर हत्यारा पुगे प्रहरी कार्यालय


धनगढी । कैलालीमा आपसी विवादमा सुर्खेतको चौकुनेका एक युवकको घाँटी रेटी हत्या गरिएको छ ।
धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै हत्या गर्ने दुई जना युवक पीडितको टाउको लिएर ईलाका प्रहरी कार्यालय सुखडमा आत्मसमर्पण गरेका छन् । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राती खाजा खाने क्रममा भएको विवादका क्रममा सुर्खेतको चौकुुने गाउँपालिका–३, का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

एउटा खाजा पसलमा बुढाको घोडाघोडीकै स्थानीय १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढाक्षेत्रीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका (डीएसपी) राजकुमार सिंहले बताए । घोडाघोडीस्थित आफन्तको घर आएका बुढा र ती दुई युवकबीच खाजा खाने क्रममा विवाद भएको र सो क्रममा हत्या भएको डीएसपी सिंहले जनाए ।
उनका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

