नेपालञ्जका होटलमा प्रहरीको छापा, यौन धन्दामा संलग्न ४५ जना पक्राउ


नेपालगञ्ज । बाँकेको नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर यौन धन्दामा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएको छ ।
ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका (डीएसपी) दीपक पातलीले जानकारी दिए । उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।
बाँके प्रहरीले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न, खासगरी नेपालगन्जमा मौलाएको जुवा तथा यौन धन्दाजस्ता गैरकानुनी गतिविधिमा लगाम लगाउन यो कदम चालेको बुझिएको छ ।

