अज्ञात समूहले विजुलीका पोलमाथि रुख ढालेपछि तीन दिनदेखि पश्चिम सुर्खेत अन्धकारमय


सुर्खेत । अज्ञात समूहले सडक छेउका रुख काटेर विजुलीका पोल ढालेपछि तीन दिनदेखि पश्चिम सुर्खेत अन्धकारमय बनेको छ ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र बाबियाचौर नोलाईट सेवा अन्तर्गतको गुटु फिडरको ११ केभीए विजुलीको ६ वटा पोलमा ५५ वटा रुख अज्ञात समूहले ढालेपछि विद्युत सेवा पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो । खम्बागाडे–बाबियाचौर–विद्यापुर सडक निर्माण अन्तर्गत माझिगाउँदेखि एक किलोमिटर पूर्वी क्षेत्रका रुख आफुखुशी विजुलीको पोलमा ढालिएपछि अहिले पश्चिम सुर्खेत अन्धकारमय बनेको छ ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत बितरण केन्द्र प्रमुख अशोक लोहनीले अज्ञात समूहले सडक किनारका रुख ढालेपछि विद्युत प्रसारणमा अबरुद्ध भएपनि आज चौकुने गाउँपालिकासँगै स्थानीय नागरिकको सहयोगमा मर्मत सुधारको काम तीव्र गतिमा भईरहेको जानकारी दिए । उनले विद्युतका पोलमाथि सडक छेउका रुख ढालेर विद्युत आपूर्ति अबरुद्ध गर्ने समूहलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बाबिचौरमा निवेदन दिईसकेको बताए ।
यता ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख (प्रहरी निरीक्षक) रबिन्द्र कार्कीले घटनास्थलको मुचुल्का उठाएर नियमित विद्युत आपूर्ति सेवा अवरुद्ध गर्ने अज्ञात समूह माथि आवश्यक अनुसन्धान शुरु भईसकेको जानकारी दिए । उनका अनुसार वन कार्यालयको क्षेत्रधिकार भित्र पर्ने भएकाले प्रहरीसँगै डिभिजन वन कार्यालय भेरी बाबियाचौरसँग सहकार्य तथा समन्वय गर्दै घटनाको अनुसन्धान प्रक्रिया अघि बढाईएको छ ।


उता डिभिजन वन कार्यालय बाबियाचौरका (सूचना अधिकारी) सहायक वन अधिकृत शेरबहादुर रोकायले खम्बागाडे–बाबियाचौर–विद्यापुर सडक निर्माण अन्तर्गत सडक छेउका रुख हटाउने कार्यका लागि प्रारम्भिक वातावरणिय प्रभाव मूल्यांकन (ईआईए) कार्य अन्तिम चरणमा रहेपनि माझिगाउँदेखि एक किलोमिटर परसम्म शुक्रबार राती अज्ञात समूहले ५५ वटा रुख ढालेर विजुली प्रसारणमा समेत अवरोध पु¥याएको जानकारी दिए ।
उनले प्रारम्भिक वातावरणिय प्रभाव मूल्यांकन (ईआईए) का लागि वन कार्यालयबाट आवश्यक सहयोग र सहजीकरण गरेपनि सडक डिभिजन कार्यालयबाट थप प्रक्रिया अघि नबढाउँदा रुख कटान ढिलाई भएको बताए । तर, स्थानीय बासिन्दा भने सडक निर्माण ठेकेदार कम्पनीले विद्यापुरदेखि माझीगाउँसम्म कालोपत्र गरिसक्दा समेत त्यसअघिका रुख कटानमा वन कार्यालयले ढिलाई गरेपछि अज्ञात समूह रुख ढालेको बताउँछन् ।
एकै पटक ठुलो संख्यामा अज्ञात समूहले सडक छेउका रुख विजुलीका पोलमा ढालेपछि तीन दिनदेखि अवरुद्ध विद्युतको मर्मत कार्य छिटो गर्नका लागि आफुहरुले विद्युत प्राधिकरणलाई भरपुर सहयोग गरिरहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । उनले विद्युत लाइन अवरुद्ध हुँदा सुर्खेत पश्चिम क्षेत्रको सञ्चारमा समेत समस्या आएको जनाए ।


