मिथिलामा आजदेखि औपचारिक रुपमा छठ सुरु

धनुषा । तराई मधेसको मुख्य पर्व छठ आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । तराईको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठका लागि मिथिलाका घाटहरुलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको जानकारी दिए ।

त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरु अहिले माटोबाट बनेको घैंटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैंटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ ।

छठ पर्वको सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू

तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिए ।

यस योजनाअन्तर्गत प्रदेशभरका आठ वटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले ‘अप्रेसन आस्था’ बारे जानकारी दिँदै छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताए । उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, भिडभाडमा अव्यवस्था सृजना गर्ने लगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो ।

सुरक्षाकर्मीको परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोसाकका सुरक्षाकर्मी समेत समावेश गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले प्रहरी बललाई छठ घाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको जनाए । उनले छठपर्व आस्थासँग जोडिएको पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्र सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ । थप निगरानीका लागि अत्यधिक भिडभाड हुने स्थलहरुमा सिसी क्यामेराबाट निगरानी, सुरक्षा चौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ ।

Translate »