हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजना निर्माण हुने


काठमाडौं । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अगाडि बढाइएको छ । ऊर्जा‚ जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिशमा वन तथा वातावरण मन्त्रालयले ईआईएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत परियोजनाले निर्माण गर्नेछ ।
आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत ईआईएमा आवश्यक सुझाव तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ ।
आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्नेछ । विद्युत उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रही आएको छ । सोहीअनुसार ईआईएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले अध्ययन गरिरहेको छ ।
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रुपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रुपमा हेरिएको हो ।

प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८ दशमलव ७० घनमीटर प्रतिसेकेण्ड रहेको छ । आयोजनामा दुईओटा डाइभर्सन सुरुङ निर्माण हुनेछ । डाइभर्सन सुरुङको लम्बाई ५४५ मीटर र ५४२ मीटर रहनेछ । डाइभर्सन सुरुङको व्यास ९ दशमलव ५ मीटर रहनेछ ।
आयोजनाबाट सुक्खायाममा ६०९ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षायाममा १ हजार १८४ दशमलव ८३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित बिजुली २० किलोमीटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ । आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् । १८८ वटा रुख कटान गर्नुपर्नेछ ।
आयोजनाको प्रतिमेगावाट लागत रु २१ करोड ७६ लाख बराबर रहेको छ । यस्तै, कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख बराबर रहनेछ । आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन् । रासस

