नलगाड–मैनतडा प्रसारण लाइन निर्माणलाई अनुमति प्रदान

सुर्खेत । सरकारले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड–मैनतडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चालु आर्थिक वर्षमा काम शुरु हुने गरी प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको हो । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ ।

कुल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सो प्रसारण लाइन निर्माण गर्दैछ । विभागले हालसम्म कुल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ ।

यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारण लाइनसँगै सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजनाको समेत काम अघि बढ्ने भएको छ । विभागले हालसम्म कुल १४४ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ ।

Translate »