एमाले सुर्खेतका नेता काशीराम देवकोटाको हृदयघातबाट निधन, शोकमा डुब्यो एमाले चौकुने


काठमाडौं । नेकपा (एमाले) सुर्खेतका लोकप्रिय नेता काशीराम देवकोटाको निधन भएको छ । एमाले जिल्ला कमिटी सदस्य तथा साविक गुटु गाविसका अध्यक्ष काशीरामको आज साँझ हृदयघातबाट निधन भएको हो ।
पश्चिम सुर्खेतका सामाजिक तथा राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्व काशीरामको असामायिक निधनले आज पश्चिम सुर्खेत शोकमा डुबेको छ । राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्व काशीरामले देश र जनताका लागि खेलेको भूमिका सदैव स्मरणिय रहने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।
उनले काशीरामको असामायिक निधनको खबरले स्तब्ध भएको बताउँदै दुःखद घडीमा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरे । राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज काशीरामजीले खेलेको भूमिका हामी सबैका लागि सदैव स्मरणिय रहने उनको भनाइ छ ।

नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाले पश्चिम सुर्खेतका अग्रज व्यक्तित्व काशीरामको असामायिक निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए । उनले पार्टीको पश्चिम खम्बाको रुपमा रहेका काशीरामको निधनले नेकपा एमालेलाई अपूर्णिय क्षति पुगेको जनाए ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का स्थायी निबासी विकासप्रेमी काशीरामको असायिक निधनले स्तब्ध बनाएको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य आकाश तारा बयकले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले काशीरामको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनसँगै चौकुनेबासी जनताप्रति समवेदना प्रकट गरे । काशीरामजीको सामाजिक कार्यको उच्च सम्मान गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासँगै शोकसन्तप्त परिवारजनप्रति समबेदना उनले प्रकट गरेका छन् ।
यसैवीच राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेश सल्लाहकार सदस्य जीवनप्रसाद देवकोटाले चौकुने बासीका लागि सधै अभिभाकत्व दिने असल समाजसेवी तत्कालीन गुटु गाबिस अध्यक्ष आदरणीय कासिराम देबकोटाको असामाहिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

