आज देशभर पानी पर्छ : मौसम पूर्वानुमान महाशाखा


काठमाडौं । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहनेछ ।
आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

साथै बाँकी तराईका एकदुई स्थानमा हलुका वर्षाको सम्भावना छ । वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना छ ।
आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । यसैगरी गण्डकी प्रदेशका केही स्थान तथा वागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

