सुर्खेतमा राजश्व छलीको नक्कली चुरोटसहित १ जना पक्राउ


वीरेन्द्रनगर । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट राजश्व छलीको नक्कली चुरोटसहित १ जना पक्राउ गरेको छ ।
जिल्ला सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा विना बिल बिजकको नक्कली चुरोटको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा प्रहरीले सोही ठाउँका ३५ वर्षिय जिवनकुमार शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुलपानीमा सञ्चालन गरेको मेसी नामक स्टोरमा नक्कली चुरोट २५ डण्डा ( ५०० बट्टा) र खुल्ला ४ बट्टा गरी जम्मा ५०४ बट्टा खुकुरी चुरोटसहित रंगेहात पक्राउ गरेको छ ।
प्रहरीले उक्त मात्राको राजश्व छलीको नक्कली चुरोटसहित शाहीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

