कर्णाली प्रदेश योजना आयोगका गतिविधि रेडियो नेपालबाट प्रसारण हुने


सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका विभिन्न गतिविधिहरु अब रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुने भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र कर्णाली प्रदेश योजना आयोग वीच विभिन्न गतिविधिहरु प्रसारण गर्ने सम्बन्धि द्विपक्षीय सम्झौंता भएको हो ।
द्विपक्षीय सम्झौंता भएसँगै अब आयोगको नीति, योजना तथा कार्यक्रमका बारेमा प्रत्यक्ष महिनाको दुई दिन (पाक्षिक) रुपले शुक्रबार बेलुकी ५ : ३० देखि ५ः४५ बजेसम्म रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।

उक्त द्विपक्षीय सम्झौंता पत्रमा प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत गोपाल केसी र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका तर्फबाट प्रमुख विजयकुमार बर्माले हस्ताक्षर गरेका हुन् ।
प्रदेशमा सञ्चालित विभिन्न योजनाहरुको अवस्था के, कस्तो छ र कसरी सञ्चालन भईरहेका छन भन्ने जानकारीसँगै विभिन्न गतिविधिहरु रेडियो नेपाल मार्फत नागरिकसमक्ष पु¥याउन सहयोग पुग्ने आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले विश्वास व्यक्त गरे ।
यता रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख बर्माले कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमले उल्लेखनीय भूमिका निर्बाह गर्ने प्रतिवद्धता जनाए ।

