अनुशासित भएर सवारी चलाऊँ !

‘ढिलो गए अवस्य पुगिन्छ, हतार गरे भन्न सकिँदैन’, आजभोलि यो भनाइलाई ध्रुवसत्य मान्दा पनि फरक पर्दैन किन कि सवारी अत्यधिक गतिमा चलाएर हुने दुर्घटनाको संख्या दिन प्रतिदिन बढिरहेको छ । तर, याद गर्नुहोस्, तपाईं यस्तो दुर्घटनाको समाचार बन्न चाहनुहुन्न । सडक सुरक्षा कायम गर्न हरेकले सवारी सीमित गतिमा चलाउनु जरुरी हुन्छ । सवारी धेरै हाँक्दा तपाईंले आफ्नो मात्र नभई सडकमा हिँड्ने पैदल यात्रु र अन्य सवारी चालकको ज्यान पनि जोखिममा पार्न सक्नुहुन्छ । यसबाहेक सवारी चलाउँदा कुनै पनि घुम्ती र मोडमा गाडीलाई स्लो गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । तसर्थ, सवारी साधन विस्तारै र तोकिएको गतिमा हाँक्नुहोस, एक जिम्मेवार नागरिकको पहिचान दिनुहोस् । कर्णालीमा दसैंको समयमा मात्रै ५१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ९ जनाको ज्यान गएको छ भने १ सय २३ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक छ ।

चालु आर्थिक वर्षका ३ महिनामा मात्रै कर्णालीमा २ सय १६ दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । जसमा ४ सय ९४ जना घाइते भएका छन् । तीन आर्थिक वर्षमा सबैभन्दा धेरै चाडपर्वकै समयमा दुर्घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ट्राफिक नियम यात्रु र चालकको सुरक्षा कै लागि भनेर बनाइएको हो ।  ट्राफिक नियमको पालना गर्नाले दुर्घटना हुने सम्भावना धेरै घटेर आउँछ । तर, हामी कहाँ ट्राफिक नियमको पालना सुरक्षाको लागिभन्दा पनि जरिवानाबाट बच्नको लागि गरिन्छ । अर्थात, ट्राफिक प्रहरी नभएको स्थानमा त ट्राफिक नियम पालन गर्ने व्यक्ति निकै कम भेटिन्छन् । अध्ययनले सवारी दुर्घटनामा चालकको लापरवाहीलाई मुख्य कारण रहेको देखाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियमका बारेमा चालक सवारीमा सवार यात्रु र पैदलयात्रीलाई प्रशिक्षण दिइरहन्छ । त्यस्तै विद्यार्थी, अभिभावक तथा सडक यात्रीलाई विद्यालयमा गएर सचेतना दिने गरिएको छ । अनि पनि दुर्घटना बढिरहेको छ । त्यसो त सवारी दुर्घटना विविध कारणहरु जिम्मेवार हुन्छन् ।  तर, त्यसमध्येको प्रमुख कारण चाहिँ लापरवाहीपूर्वक सवारी चलाउनु नै हो ।  ट्राफिकका अनुसार चालक लापरवाहीले सोह्र प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले बाह्र प्रतिशत, मादकपदार्थ सेवनका कारण दश, बिना लाइसेन्स सवारी चलाउनेहरुका कारण सात प्रतिशत रहेको छ ।

प्रदेशका पहाडी क्षेत्रमा जथाभावी र अवैज्ञानिक तरिकाले सडक खन्ने प्रवृत्ति पनि सवारी दुर्घटनाका कारण बन्न थालेका छन् । त्यस बाहेक प्रतिष्पर्धाको भावनाले र क्षमताभन्दा बढी यात्रु चढाउने लगायतका कारण पनि दुर्घटनामा जिम्मेवार रहेको अध्ययनले देखाएको छ ।
सडक सबैको साझा सम्पत्ति हो र सो सडकमा एकजनाले मात्र सवारी चलाउने त होइन । त्यसकारण, सडकमा सवारी चालकबीच एकआपसमा समझदारी हुनु महत्वपूर्ण हुन्छ । गन्तव्यमा सुरक्षित पुग्ने चाहना सबैको हुन्छ र सवारी साधन दुर्घटना होस् भन्ने चाहना कसैको हुँदैन । तर दिनहुँ जसो स–सानो गल्तीबाट पनि धेरै सवारी दुर्घटना भइरहेका छन् । सवारी दुर्घटनाले हुने यस्तो मानवीय क्षतिको क्षतिपूर्ति कुनैपनि चिजले परिपूति गर्न सकिदैन् । तर दुर्घटनामा हुने भौतिक र आर्थिक क्षतिपूर्ति भने बिमाले गर्न सक्छ । त्यसैले अनुशासनमा रहेर मात्र सवारी साधन चलाउनु पर्छ ।

Translate »