कोहलपुरमा बाघ र चितुवाको आक्रमण तीव्र, स्थानीय त्रासमा


बाँके । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको आतङ्क बढ्दै गएको छ । केही
दिनअघि ढकेरीमा घाँस काट्न गएका एक व्यक्तिमाथि बाघले आक्रमण गरी मृत्यु भएपछि त्रसित बनेका स्थानीयबासी अहिले चितुवाको आक्रमण बढेपछि थप चिन्तित बनेका छन् । शुक्रबार राति कोहलपुर नगरपालिका–१२, सुन्दर बस्तीका स्थानीय रबि टमटाको खोरमा पालेका तीनवटा बाख्रा चितुवाले मारेर खाएको घटना बाहिर आएको छ ।

खोरभित्रै थुनेर राखिएका बाख्रालाई चितुवाले रातिको समयमा आक्रमण गरी खाएको र पछिल्ला केही दिनयता उक्त क्षेत्रमा चितुवाको स्वर समेत सुन्ने गरिएको टमटाले बताए । निकुञ्ज नजिकैको बस्तीमा बाघ र चितुवाको डर बढेपछि स्थानीयहरू साँझ पर्नासाथ घरबाहिर निस्कन डराउने गरेका छन् ।
टमटाले भने, ‘हामी अहिले हरेक क्षण डर र त्रासमा बसिरहेका छौं । घरपालुवा जनावर मात्रै होइन, मान्छेमा पनि खतरा बढ्दै गएको छ ।’ त्यस्तै, स्थानीय मनवीर सुनारका अनुसार केही दिनको अन्तरालमै कोहलपुरको निबुवा देखि खड्कवारसम्मका चार ठाउँमा चितुवाले बाख्रा आक्रमण गरेको छ । ‘लगातार जनावर मारिँदा गाउँमा डर व्याप्त छ,’ उनले भने, ‘निकुञ्ज र सम्बन्धित निकायले तत्काल नियन्त्रणका उपाय अपनाउनुपर्छ ।’
निकुञ्ज नजिकका गाउँबस्तीमा पछिल्ला दिनमा बाघ र चितुवाको हिंसक गतिविधि बढ्दै गएको र यसले मानव–वन्यजन्तु द्वन्द्वको खतरा बढाएको स्थानीयले बताएका छन् । उनीहरुले वन्यजन्तु नियन्त्रण र जनचेतनामूलक कार्यक्रमका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

