बाँकेमा ‘नो–पे, नो–लाइट’ अभियान

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध सख्त कदम चालेको छ । प्राधिकरणले तीन दिनभित्रै १ सय ८२ जना ग्राहकको बिजुली लाइन काट्दै करिब १ करोड ३४ लाख ६२ हजार ४ सय २० रुपैयाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाएको हो ।

वितरण केन्द्रका लेखा अधिकृत बुद्धिसागर भुसालका अनुसार अभियान शुरु भएको तिन दिनमै ७६ जना ग्राहकले बक्यौता रकम तिरेका छन्, जसबाट ४१ लाख ८९ हजार ९० रुपैयाँ असुल भएको छ । उनले भने, ‘बाँकी ग्राहकले बिल तिरेपछि मात्र उनीहरूको लाइन पुनः जडान गरिनेछ ।’

गत शुक्रबारदेखि सुरु गरिएको यो अभियान अन्तर्गत प्राधिकरणले स्मार्ट मिटरमार्फत उद्योगी र व्यवसायीहरुको लाइन काट्ने कार्य अघि बढाएको छ । भुसालका अनुसार लाइन प्रयोग गरेबापतको बिल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त अवधिभित्र बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुने उनको भनाइ छ ।

वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले ‘नो–पे, नो–लाइट’ अभियानलाई तीव्रता दिइएको जनाए । नेपालगञ्जका एक उपभोक्ताले आफ्नो अनुभव सुनाउँदै भने, ‘बिल तिरेपछि मात्र बिजुली आउँछ भन्ने थाहा त थियो, तर यति चाँडो काटिन्छ भनेर सोचेकै थिएन् । अब देखि समयमै बिल तिर्नुपर्ने महसुस भएको छ ।’

प्राधिकरणका अनुसार, यो अभियानले बाँकेका सयौं ग्राहकमा बिल तिर्ने हतारो र सचेतता ल्याएको छ । संस्थाले अब उपभोक्तासँग सहकार्य गरेर विद्युत सेवा अझ व्यवस्थित, भरपर्दो र पारदर्शी बनाउन प्रतिबद्ध रहेको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको भनाइ छ ।

Translate »