सुर्खेतमा दुई हजार नयाँ मतदाता थपिए

सुर्खेत । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणाभएसँगै नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । सुर्खेतमा आयोगद्वारा सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा युवायुवतीले उत्साहजनक सहभागिता जनाईरहेका छन् ।

मंगलबारसम्म १ हजार ८ सय १७ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईले जानकारी दिए । उनले कार्तिक २५ गतेसम्म सुर्खेतमा १ हजार १ सय ३९ जना पुरुष र ६ सय ७८ जना महिला मतदाता थपिएको बताए । उनका अनुसार निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक भइरहेको छ । अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका नयाँ मतदाता बढी थपिएका छन् ।

सुर्खेतमा २०८१ चैत ३० गते सम्म २ लाख ४४ हजार ६ सय ७६ मतदाता थिए । त्यसमा १ लाख ९९ हजार ३ सय ८९ जना पुरुष, १ लाख २५ हजार २ सय ८७ जना महिला थिए । नामावली संकलनका क्रममा नयाँ मतदाता नामवलीमा नाम दर्ता गर्ने, विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने र दाबीविरोध गर्ने गर्नेलगायतका कार्यहरु भइरहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेल बताए ।

आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली संकलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ । यता सरकारले समेत आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा युस्तालाई आव्हान गर्दै आईरहेको छ । नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ ।

यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन (पूर्वदर्ता) पनि गराउन सकिन्छ । अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । आयोगले हाल नामावली संकलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ ।

निर्वाचनपछि पुनः नामावली संकलन हुने भएकाले आसन्न निर्वाचनमा भाग लिन नपाउनेहरुले अहिले नामावली संकनलमा हतार नगर्न आयोगले आग्रह गरेको हो । मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ । नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

 

Translate »