कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत

सुर्खेत । कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८१/८२ प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।अध्ययनमा समेटिएका उद्योगको तथ्यांक का आधारमा क्षमता उपयोगको अवस्था सो अनुसार देखिएको राष्ट्र बैंकको भनाइ छ ।

समीक्षा वर्षमा प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४६ दशमलव ५२ प्रतिशत रहेको हो । बिजुलीका तार र केबल उत्पादनसम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत रहेको छ । गलैंचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३ दशमलव शून्य आठ प्रतिशत छ ।

समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा एक दशमलव ९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको छ दशमलव ५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ ।

त्यसैगरी, समीक्षा वर्षमा यस प्रदेशमा भित्रिने पर्यटकको सङ्ख्या एक दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । भारत र चीनबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३ दशमलव ८५ र २५ दशमलव ७७ प्रतिशतले कमी आएको छ भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या नौ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५ दशमलव ४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । समीक्षा वर्षमा प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या चार सय ७५ कायम भएको छ ।

यस्तै, शाखारहित बैकिङ संख्या १८ कायम भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ६६ दशमलव ८५ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार आव २०८१/८२ मा यस प्रदेशमा विद्युत् प्रसारण लाइन तीन हजार ५७५ दशमलव ७४ सर्किट किलोमिटर पुगेको छ ।

कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यले गति लिइरहेको देखिन्छ ।

Translate »