सुर्खेतमा रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल सेवा पुनः शुरु

वीरेन्द्रनगर । सुर्खेतमा विगत डेढ वर्षदेखि ठप्प रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल सेवा पुनः सञ्चालनमा आएको छ ।

यसअघि ट्रायल सेन्टर छनौटको विवाद अदालत पुगेपछि डाईभिङ्ग लाइसेन्सको परीक्षा रोकिएको थियो । अहिले यातायात व्यवस्था कार्यालय सुर्खेतले कानूनी तथा अन्य आवश्यक सबै प्रक्रिया पुरा गरेर बुधबारदेखि सवारी चालक अनुमति पत्र (लाईसेन्स) ट्रायल परीक्षा शुरु गरिएको जनाएको छ ।

यातायात व्यवस्था कार्यालयका प्रमुख मुकुन्दनाथ योगीले २०८१ असार मसान्तदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल सेवा सेवाग्राहीको उच्च दवावपछि यहीं मंसिर ९ गतेदेखि शुरु गरिएको जानकारी दिए । उनले कार्यालयको जनशक्ति र साधनस्रोतलाई मध्यनजर गरेर पहिलो लटमै दुई सय कोटा निर्धारण गरिएकोमा आवेदन दिने सोही संख्या मध्य लिखित परीक्षामा १ सय २० जना उर्तिण भएको जनाए ।

उनका अनुसार ती मध्य बुधबार (लाइसेन्स) ट्रायल परीक्षमा सहभागी १ सय ९ जना मध्य ४९ जना उर्तिण भएका छन् ।  अहिले कर्णालीमा यातायात व्यवस्था कार्यायलय जुम्लाले समेत नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको छ । यसअघि स्वार्थ समूह र विभिन्न कानूनी विवादका कारण रोकिएको (लाइसेन्स) ट्रायल परीक्षा दिन कर्णालीका सेवाग्राहीलाई अन्यत्र प्रदेशमा जानुपर्ने बाध्यता रहेको थियो ।

सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन नपाउँदा कर्णालीबाट करोडौं राजश्व बाहिरिएको थियो । कर्णालीमा करिब ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे ।

अहिले यो सेवा कर्णालीका सुर्खेत, जुम्ला र रुकुम पश्चिम (चौरजहारी) स्थित यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुँदै आएको छ । अब कर्णालीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल सेवा पुनः सञ्चालनमा आएपछि सेवाग्राहीलाई सहजतासँगै प्रदेशको मुख्य राजश्व स्रोतमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।

Translate »