लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : हिंसा विरुद्ध चुप लागेर नबस्ने लेकवेशीका महिलाको उद्घोष


सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–१३ की रमा गौतम (परिवर्तित नाम) ले १४ वर्षको उमेरमा आफनै नातेदारबाट गरेको अभद्र व्यवहारको पीडा २५ वर्षपछि सार्वजनिक गरेकी छन् ।
वुवाको मृत्युपछि घरभित्रै असहाय बनेकी उनलाई घटनाबारे बोल्ने वातावरण थिएन । तीजको समयमा घटेको त्यो घटनाबारे आमालाई बताए पनि ‘यस्तो कुरा बाहिर भन्न नहुने’ भन्दै चुप रहन बाध्य पारिएको रमाले सुनाइन् । ‘दलित समुदायभित्र सहयोग र चेतनाको अभावका कारण आफूले लामो समयसम्म मानसिक चोट बोकिरहनु परेको बताउँदै उनले भनिन्, ‘उही घटना बारम्बार दिमागमा घुम्छ । तर बोल्ने हिम्मत त्यतिबेला थिएन।’
लेकवेशी नगरपालिका, भिएसओ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एफसिडिसिओको सहकार्यमा आयोजित ‘१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान’ मा सहभागी महिलाबीच उनले पहिलोपटक आफ्नो पीडा बाँडिन्। कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै उनले घरभित्र वा बाहिर कुनैपनि प्रकारका हिंसा सहन नहुने बताइन् ।

‘महिलाले एकताको बलमा विरोध गर्नुपर्छ, नत्र न्याय पाउन झनै मुस्किल हुन्छ,’ उनले भनिन् । एफसिडिओको आर्थिक सहयोगमा भिएसओ नेपाल र राष्ट्रिय कृषक समूह महासंघले सञ्चालन गरेको ‘एक्टिभ परियोजना’ अन्तर्गत रमा जस्तै भेरीगंगा–लेकवेशी नगरपालिका धेरै सिमान्तकृत महिलाहरू हाल आयआर्जनका कार्यक्रममा आवद्ध छन् ।

आर्थिक क्रियाकलापमा जोडिएपछि उनीहरु घरेलु तथा लैङ्गिक हिंसा कम गर्न समुदायमै सक्रिय भूमिका खेलिरहेका छन् । कार्यक्रममा लेकवेशी नगरपालिकाका उपमेयर विमला खड्लुकले छोराछोरीलाई लक्षित कुनै पनि प्रकारको हिंसा अन्त्यका लागि सबै तहबाट साझा प्रतिवद्धता आवश्यक रहेको बताइन् ।
‘जस्तोसुकै अवस्था आएपनि हिंसा महसुस भएपछि तत्काल सम्बन्धित कार्यालय वा निकायमा सहयोग माग्नुपर्छ,’ उनले भनिन् ।’ ईलाका
प्रहरी कार्यालय लेकवेशीका प्रमुख निलकण्ठ ढकालले हिंसाका घटना कहींकतै भए ढिलाइ नगरी प्रहरीलाई सूचित गर्न सुझाव दिए । । उनले हिंसा दर्ता गर्न हिचकिचाइने प्रवृत्तिले अपराधी थप साहसिक र पीडित अझ कमजोर बन्ने अवस्था बन्न नदिन सहभागि महिलाहरुलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष सन्तबहादुर केसीले लैंगिक हिंसा अन्त्य सामुदायिक तथा संस्थागत सहकार्यबिना सम्भव नभएको बताए । ‘१६ दिनका कार्यक्रमले चेतना जगाउँछ, तर प्रभाव टिकाउन वर्षभर निरन्तर प्रयास आवश्यक छ,’ उनले भने ।’
लेकवेशी नगरपालिका दशरथपुरमा आयोजना भएको कार्यक्रममा सहभागि महिलाहरुले महिलाले कार्यक्रममा आ–आफ्नो अनुभव सुनाएका थिए। लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको नारा लगाउदै र्यालि दशरथपुर बजार पुगेर सभामा परिणत भएको थियो ।


