भारतबाट नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई


कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सिमानाकामा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै जिल्ला स्थित सिमानाकामा चेकजाँचमा कडाइ गरिएको जनाएको हो ।

कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले जिल्लामा प्रवेश गर्न सक्ने भएकोले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको जानकारी दिए । शङ्कास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
परिचय नखुलेका त्यस्ता अपरिचित व्यक्ति वा समूहलाई आफ्नो घर तथा समुदायमा बसोबास गराउने वा कुनै कामकाजमा लगाउने काम नगर्न÷नगराउन सबैमा प्रशासन कार्यालयले सूचना मार्फत आग्रह गरेको छ ।

