एमाले सुर्खेतद्वारा आठ जनालाई जिल्ला कमिटीमा मनोनित


सुर्खेत । नेकपा एमाले सुर्खेतले आठ जनालाई जिल्ला कमिटीमा मनोनीत गरेको छ ।
जिल्ला कमिटी सचिवालयको शनिबार बसेको १३ औं पूर्ण बैठकले एकता तथा समायोजनको प्रक्रियामा अन्य पार्टीबाट नेकपा एमालेमा समाहित भएका आठ जनालाई मनोनित गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष कुलमणी देवकोटा, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, कर्णाली प्रदेश कमिटी सचिव धुर्बकुमार शाही, उपसचिव पद्मा खड्कालगायतको उपस्थितिमा उनीहरुलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको पार्टीका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।


उनका अनुसार एकता तथा समायोजनको प्रक्रियामा तथा अन्य पार्टीबाट नेकपा एमालेमा समाहित हुनेमा महेन्द्रप्रसाद खनाल, लोकप्रसाद चालिसे, मनबहादुर कामी, अर्जुनबुचा मगर, सुरेन्द्रबहादुर बिसी, शेरबहादुर सिंह, नरबहादुर बिसी, (नवीन) एवं टोपबहादुर बिसी रहेका छन् ।
उनले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका तथा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गर्न सहयोग, सहजीकरण तथा समन्वय गरेर योगदान गर्ने निर्वाचन समिति समेतलाई जिल्ला कमिटीले हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको बताए ।


