वैदेशिक रोजगारीलाई मर्यादित बनाऊँ !

कुनै श्रमिक वा कामदारले विदेशमा गएर प्राप्त गर्ने रोजगारीलाई वैदेशिक रोजगारी भनिन्छ । नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिएका छन् । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भएतापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ । बाध्यतावश चर्को व्याजमा ऋण लिएर विदेश जान चाहेका र जानु परेका युवाहरु वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएको र दुःख पाएको पाइन्छ । ठगिएपछि पछुताउनु र समस्या परेपछि उद्दार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृति बारे सही सूचना र जानकारी दिन सके मात्र वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सकिन्छ । सूचना प्रविधिको विकाससँगै भूमण्डलीकरण (ग्लोबलाइजेसन) ले ‘संसार’ एउटा गाउँमा परिणत भएको छ । अपवाद बाहेक ! अब जुनसुकै देशको सीमा भौगोलिक रेखा मात्र हो । त्यसैले विश्वका अधिकांस देशमा नेपाली श्रमिक पुगिसकेका छन् । भूमण्डलीकरणले संसारभर वित्तीय पुँजीको बेरोकटोक प्रवाहमा जोड दिन्छ । शक्तिसम्पन्न राष्ट्रहरुले आफुसँग भएको पुँजी लगानी गर्ने र त्यसबाट धेरै नाफा आर्जन गर्ने स्थानको खोजीसँगै गरिव देशहरुमा रहेका प्राकृतिक स्रोतसाधनसँगै मानव संसाधनको दोहन गर्नु मुख्य उद्देश्य रहन्छ ।

पहिले प्राकृतिक स्रोतसाधनमै सीमित रहेका देशहरु अहिले मानव संसाधनको व्यापारमा समेत जुटेका छन् । भूमण्डीकरणको प्रभाव देशका कुनाकाप्चासँग पुगिसकेको छ । पहिले शहरका टाठाबाँठा मात्र जाने गरेकोमा अहिले दुर्गम र विकटका गरिव नागरिक समेत सुनौलो सपना बोकेर सकीनसकी विदेश जाने गरेका छन् । यद्यपि ! अहिले देशको मुख्य आम्दानीको स्रोत नै विप्रेषण (रेमिटेन्स) बनेको छ । कर्णाली प्रदेश प्रदेशबाट समेत वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेको पाईएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । स्वदेशमा रोजगारीका अवसर सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा विदेशीनेहरु बढ्दैछन । पहिले स्वदेशमै रोजगारी भएपनि एक्कादुक्का मानिसहरु उच्च शिक्षादेखि उच्च अवसरका लागि विदेश जाने चलन रहेकोमा अहिले दैनिक घरगुजारा चलाउनका लागि समेत विदेश जानु परिरहेको छ । त्यसरी वैदेशिक रोजगारीमा जानेहरुलाई सुरक्षित तरिकाले स्वदेश फिर्ताको जानकारी नहुँदा कर्णालीबाट मात्रै वैदेशिक रोजगारीमा गएका हालसम्म २६४ जनाको मृत्यु भईसकेको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्ति सबै कुरा थाहा पाएर मात्र जानुपर्नेमा विभिन्न दलाल र एजेन्टहरुको चक्करमा कर्णालीका सोझासादा नागरिकले अकालमै मृत्युवरण गर्नु परिरहेको छ । त्यसैले वैदेशिक रोजगारीमा जाने व्यक्ति सबै कुरा थाहा पाएर मात्र जानुपर्छ । वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्छ । त्यति मात्रले पुग्दैन्, जुन देशमा गईन्छ, त्यहीं देशको कानून, ऐन र सामाजिक नियम अनुसार चल्न सक्नु पर्दछ । अर्कोतर्फ कतिपय नागरिक अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगिएका घटना बढिरहेका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन, नियमावली, वैदेशिक रोजगार न्यायाधीकरण नियमावलीलगायतका थुप्रै ऐन, नियम, निर्देशिका, कार्यविधिहरु बनेपनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ । त्यसैले तीनै तहका सरकारहरुले सके स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न सक्नु पर्दछ । कुनै व्यक्तिलाई वैदेशिक रोजगारीमा जानै परे मर्यादित, विश्वासिलो र सुरक्षित बनाउन तत्कालै अग्रगामी कदम उठाउनु पर्ने आवश्यकता देखिन्छ ।

 

Translate »