प्रतिनिधि सभा निर्वाचन : मिति नजिकिँदै गर्दा नयाँ मतदाता बढी उत्साहित


अनिता विक/सुर्खेत । प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ मतदाता बढी उत्साहित भएका छन् । अहिले चिया पसल, गाउँ, नगरका चोक, चौतारामा निर्वाचनकै चर्चा हुने गरेको छ ।
सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक प्रक्रिया तीव्रपारे पछि नयाँ युवा मतदाता आफ्नो जनप्रतिनिधि छान्न आतुर देखिएका छन् । राजनीतिक दलहरु पनि मतदातालाई आफनो पक्षमा पार्न विभिन्न तरिकाले भेटघाट, भेला र बैठकमा जुटिरहेका छन् ।नयाँ दलहरुले आफ्नो पार्टीको उम्मेदवारले निर्वाचन जितेमा त्यस क्षेत्रमा गर्ने विभिन्न कामको प्रतिबद्धता समेत अहिलेदेखि नै व्यक्त गर्न थालेका छन् ।
खासगरी जेन–जी आन्दोलनपछि चर्चामा आएका दल आवद्ध युवायुवतीहरुका लागि फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन चाडपर्व जस्तै उत्सव हुने वीरेन्द्रनगरका–९, का जेन–जी राजु केसी बताउँछन् । ‘पुराना दलका नेताहरुलाई मतदाताले धेरै पटक टेस्ट गरिसकेका छन,’ उनले भने, ‘नयाँ दल आवद्ध युवायुवतीहरुका लागि फागुन २१ गतेको निर्वाचन चाडपर्व जस्तै हो ।’
नयाँ राजनीतिक दलहरुले निर्वाचन जित्नसक्ने आफ्ना पार्टीका लोकप्रिय कार्यकर्तालाई टिकट दिन कसरत गरिरहेको उनले जनाए । उनका अनुसार पुराना पार्टीमा अझैपनि निर्वाचन हुने वा नहुनेका ससंकित रहेपनि नयाँ दलहरुका लागि निर्वाचनको माहोल तातेकै छ । यस निर्वाचनले मुलुकलाई सही दिशा र गन्तव्यमा पु¥याउने उनको विश्वास छ । ‘सानातिना बहानामा निर्वाचनको मिति सार्न हुन्न,’ उनले भने ।
निर्वाचनले नेपाली जनताको भविष्यको रेखा कोर्ने बराहताल–६, की निसा विकको भनाइ छ । निर्वाचन जसरी पनि सम्पन्न गर्न नागरिक समाजले सबै राजनीतिक दललाई दबाब दिनुपर्नेमा उनले जोड दिईन् । जेन–जी आन्दोलन पछि बद्लिएको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनले महिलासँगै युवालाई राजनीतिमा होमिन विशेष मौका मिलेको उनले बताईन् ।
यता सुरक्षा निकायहरुले समेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सुरक्षा तयारीलाई तीव्रता दिएका छन् । सुरक्षा निकायहरुले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन कर्णाली प्रदेशका १० जिल्लाका सबै निर्वाचन क्षेत्रमा रहेका मतदान स्थलको अवस्थासँगै नागरिकको धारणा समेत बुझ्न पैदल गस्ती, मोबाइल गस्ती जस्ता अभियान अघि बढाएका छन् ।

बुधबार सुर्खेत आएका गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने निश्चित भईसकेकाले धेरै आशंका नगर्न आग्रह गरे । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने, सरकारले निर्वाचनको तयारी अघि बढाई सकेको छ । देशमा फेरी द्वन्द्व दोहोरिन नदिनका लागि समेत तोकिएकै समयमा निर्वाचन हुन आवश्यक छ ।’
उनले मुलुकको संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी तीव्र पारिएको जनाए । संसद् विघटन भएको छ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै फागुन २१ गते चुनाव सम्पन्न गरिने उनको भनाइ थियो ।
मौसमी बाधा–व्यवधान भए पनि फागुन २१ गतेकै मिति मानेर चुनाव सम्पन्न गरिने उनको भनाइ छ । यसैवीच आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँमा अवैध हातहतियारको खोजी अभियान समेत तीव्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत गाउँ–गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको बताए । प्रहरीले आग्रह गर्दा पनि हातहतियार नबुझाउने व्यक्तिको पहिचान गरी पक्राउ समेत गरिएको उनले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन घोषणापछि निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक लागि खोलेको समयमा २६ हजार ६ सय ३५ मतदाता थपिएका छन् । प्रदेशमा यसअघि १० लाख ६ हजार ८ सय ३४ मतदाता भएका प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए ।
कर्णालीमा १७ देखी २५ वर्ष उमेर समूहका ८० प्रतिशत बढीले मतदाताका लागि आवेदन दिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा ७ हजार ३ सय ६२ नयाँ मतदाता थपिएका छन् । दैलेखमा ३ हजार ६ सय २६ थपिएकोमा रुकुमपश्चिममा २ हजार ८ सय ४० थपिए । यस्तै डोल्पामा १ हजार ७ , जुम्लामा ३ हजार ३६ , मुगुमा ७ सय ७४ र हुम्लामा ८ सय २४ मतदाता थपिएका छन् ।
कालिकोटमा १७ सय ७६ नयाँ मतदाता थपिएका छन् । यस्तै जाजरकोट २ हजार २ सय १० जना मतदाता थपिएका छन् भने सल्यानमा ३ हजार १ सय ८० मतदाता थपिएका छन् । कर्णालीमा नयाँ मतदाताको उल्लेख्य वृद्धि र युवाको सहभागितालाई आगामी निर्वाचनको महत्वपूर्ण सूचकका रुपमा समेत हेरिएको छ।

