राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश निर्वाचन कार्यालय परिसरमै राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयको आज सुर्खेत जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत दीपक ढकालले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै उनले निर्वाचन अधिकृतको पदभारसमेत ग्रहण गरेका छन् । घोषित निर्वाचन निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न गर्ने ढकालले प्रतिबद्धता जनाए । कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा सघाउन सबै पक्षसँग अपिल समेत गरे ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशबाट (अन्य क्लष्टर र महिला खुला क्लष्टर) गरी दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।


निर्वाचन कार्यतालिका अनुसार पौष १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन ११ बजेदेखि पौष २० गते अपरान्ह ४ बजेसम्म दाबी–विरोधका उजुरी दिन सकिनेछ । पौष २१ र २२ गते उजुरीमाथि छानबिन हुनेछ भने पौष २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
पौष २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, सोही दिन ३ देखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । पौष २४ गते उम्मेदवारविरुद्ध उजुरी, पौष २५ र २६ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरिनेछ । पौष २६ गते दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, पौष २७ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन तथा पौष २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेश सभाका ४० जना सदस्य र १० जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख १ सय ५८ जना गरी कुल १ सय ९८ जना मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।
मतभारको हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ३ हजार २ र प्रदेशसभा सदस्यको मतभार २ हजार १ सय २० गरी जम्मा ५ हजार १ सय २२ मतभार रहेको छ । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ ।


