सुर्खेतमा कोइलाको धुँवाले निस्सासिएर शिशुको मृत्यु, तीन जना बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोइलाको धुँवाले निस्सासिएर एक जना शिशुको मृत्युको भएको छ ।

कोठामा कोइला बालेर सुत्दा धुँवाले निस्सासिएर ३८ दिनकी शिशु प्रतिक्षा बुढाको मृत्यु हुनुका साथै तीन जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–२, घर भई हाल जिल्ला सदरमुकाम वीरेन्द्रनगर–१२, स्थित भाडाको कोठामा बस्दै आउनु भएकी ३० वर्षीया तारा बुढा, उनकी भदैनी १३ वर्षीया संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढा बेहोस भएका छन् ।

कोइला बालेर सुतेका एकै परिवार सदस्यहरु बिहीबार बिहान कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए ।

३८ दिनकी शिशु प्रतिक्षा बुढाको भने कोठामै मृत्यु भइसकेको र बेहोस अवस्थामा रहेका तीनै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

उनका अनुसार शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ । बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिए पनि थप अनुसन्धान अघि बढाईएको उनको भनाइ छ ।

 

Translate »