कर्मचारी सञ्चय कोषद्वारा जाजरकोटमा सचेतना अन्तरक्रिया कार्यक्रम

जाजरकोट । कर्मचारी सञ्चय कोषले जाजरकोटमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कोषले आफ्ना सञ्चयकर्तालाई कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रम तथा योजनाहरुको बारेमा जानकारी दिने उद्देश्यले सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कोषको सुर्खेत कार्यालय र सञ्चयकर्ता सेवा विभागको आयोजनामा एवं छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा आयोजित सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा सञ्चयकर्ताका लागि विभिन्न लाभदायक योजना तथा कार्यक्रमबाट लाभ लिन सकिने बारेमा जानकारी गराईएको छ ।

छेडागाडको मनघाटमा आयोजित उक्त कार्यक्रममा कोषका वरिष्ठ प्रबन्धक रामप्रसाद लामिछानेले कोषले हाल सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न लाभदायक योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी दिए । उनले कोष (पेपरलेस) ई–सेवा मार्फत गुणस्तरीय सेवाहरु प्रवाह गरिरहेकाले अनलाईन मार्फत घरबाटै विभिन्न सेवाहरुको लिन सेवाग्राहीलाई आग्रह गरे ।

कार्यक्रममा सहायक प्रबन्धक दुर्गाप्रसाद नेपालले कोषद्वारा सेवाग्राहीका लागि प्रवाह भईरहेका सेवा सुविधाहरुका बारेमा जानकारी दिनुका साथै केवाइसी तथा वेब इन्ट्रि प्रक्रियाका बारेमा सहायक प्रबन्धक पवन दाहालले प्रस्तुति दिए । त्यस्तै कोषका सुर्खेत शाखा प्रमुख मुकुन्द अर्यालले खुला छलफलमा सहभागीहरुको तर्फबाट आएका विविध जिज्ञासाहरुको जवाफ दिँदै सञ्चयकर्ताहरुको सेवा सुविधाका लागि कोष सदैव कटिबद्ध रहेको जिकिर गरे ।

यता छेडागाड नगरपालिकाका शिक्षा समन्वय प्रमुख पदमबहादुर बिकले नेपाल सरकारले डिजिटल एवं पेपरलेस ई–गभर्नेन्सको अवधारणा अघि सारेको परिप्रेक्षमा कोषले त्यसअनुरुप आफुलाई अब्वल सावित गर्दै गइरहेको बताए । उनले सचेतनामुलक अन्तरक्रिया कार्यक्रमबाट कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रम तथा योजनाहरुको जानकारी जाजरकोटका शिक्षकसँगै कर्मचारीहरुले पाएको जनाए ।

त्यस्तै छेडागाड नगरपालिका–१२, का वडाध्यक्ष प्रेमबहादुर खत्रीले जाजरकोट जस्तो दुर्गम क्षेत्रमा सञ्चय कोषले बृहत सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरे ।

कोषका सुर्खेत शाखा प्रमुख अर्यालको अध्यक्षतामा शुरु भएको कार्यक्रम कोषका उपप्रबन्धक राजेन्द्रविक्रम केसीले सञ्चालन गरेका थिए भने विभागका उपप्रबन्धक राजनकुमार रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका हुन् । कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Translate »