जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । छेडागाड नपा–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी छेडागाड नपा–९ पजारुका करिब ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

त्यसै गरी दुर्घटनामा घाइते छेडागाड नपा–९ का करिब २४ वर्षीय चालक कृष्ण अधिकारी, छेडागाड नपा–८ का २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नपा–९ का करिब ३९ वर्षीय विरबहादुर अधिकारी र दैलेख, नौमुले गाउँपालिका–६का करिब २३ वर्षीया सितला रावत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काले बताएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि अस्पताल लगिएको सूचना अधिकारी खड्काले बताए ।

Translate »