अहिलेको शक्ति के हो ?

–पहिले युद्ध सैनिकबाट लडिन्थ्यो । आज युद्ध लडिन्छः ढुवानी नियन्त्रणबाट, प्रतिबन्ध (स्यान्क्सन) बाट, सम्झौताबाट, अदालतबाट र वित्तीय दबाबबाट ।
–धेरै मानिस राजनीतिक बहस गर्छन् तर धनीहरू प्रणाली हेर्छन् । र, प्रणालीहरू हाम्रो आँखै अगाडि बदलिँदै छन् ।

चीन, अमेरिका र भेनेजुएलाबीचको टकराव छ । चीनले वकिल अघि सार्दै छ । के हुँदै छ यहाँ ? धेरै मानिस अझै पनि शक्ति सेनाले तय गर्छन् भन्ने ठान्छन् । तर, त्यो सोच अब पुरानो भइसकेको छ ।
चीन, संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच हालै जे भयो, त्यसले आजको दुनियाँमा शक्ति वास्तवमा कसरी काम गर्छ भन्ने देखाउँछ । चीनले युद्धको धम्की दिएन । न चीनले युद्धपोत नै अघि सार्यो । चीनले वकिलहरू अघि सार्यो ।
अमेरिकाले भेनेजुएलाको राष्ट्रपति हटाएपछि र त्यहाँको तेलमाथि नियन्त्रण कडा गरेपछि चीनले शान्त तर गम्भीर सन्देश दियोः भेनेजुएलामा रहेका आफ्नो हित कानूनमार्फत सुरक्षित गरिनेछ । यो कूटनीति थिएन । यो चेतावनी थियो । यो भेनेजुएलाभन्दा किन ठूलो विषय हो भने यो एउटा देशको मात्र कुरा होइन । यो तेलको विषय मात्र पनि होइन ।
चीनले पूर्वाधार, ऊर्जा, बन्दरगाह र रेलमार्गमार्फत सयभन्दा बढी देशमा खर्बौं डलर ऋण दिएको छ । त्यो सम्पूर्ण लगानी एउटै मान्यतामा टिकेको छः सरकार परिवर्तन भए पनि सरकारहरूले गरेका सम्झौता कायम रहन्छन् । यदि त्यो मान्यता भत्कियो भने चीनको सम्पूर्ण विश्वव्यापी ऋण प्रणाली नै भत्किन्छ ।

त्यसैले भेनेजुएला महत्त्वपूर्ण छ । यदि कुनै सरकार हटाइएर उसका सम्झौताहरू एकै रातमा खारेज गर्न सकिन्छ भने अफ्रिकादेखि ल्याटिन अमेरिका र एशियासम्मका हरेक चिनियाँ सम्झौता कमजोर बन्छन् । चीनले यस्तो नजीर बस्न दिन सक्दैन । त्यसैले मिसाइलको धम्की होइन, चीनले अझ शक्तिशाली कुरा प्रयोग गरिरहेको छः अन्तहीन मुद्दामामिला, अन्तरराष्ट्रिय मध्यस्थता, सन्धि–सम्झौता र अदालत ।
यो मादुरोका लागि होइन, प्रणालीका लागि हो ।
२१औं शताब्दीमा शक्ति यसरी लडिन्छ
पहिले युद्ध सैनिकबाट लडिन्थ्यो । आज युद्ध लडिन्छः ढुवानी नियन्त्रणबाट, प्रतिबन्ध (स्यान्क्सन) बाट, सम्झौताबाट, अदालतबाट र वित्तीय दबाबबाट । अब युद्धभूमि जमिन होइन, वैधता हो । कसले भुक्तानी पाउँछ, कसलाई संरक्षण मिल्छ, अराजकताबीच कसका सम्झौता जोगिन्छन् भन्ने नै अब महत्त्वपूर्ण हुन्छ । यदि चीनले भेनेजुएलापछिको सरकारविरुद्ध एउटै ठूलो दाबी पनि कार्यान्वयन गराउन सफल भयो भने संसारलाई स्पष्ट सन्देश जानेछः सरकार परिवर्तनले चिनियाँ पैसा मेटिँदैन ।
यसले विश्व शक्ति सन्तुलनलाई शान्त र स्थायी रूपमा बदल्नेछ । मेरो धनी बाबुले मलाई भनेका थिएः वास्तविक युद्ध भू–भागका लागि हुँदैन, यो नगद प्रवाह र नियन्त्रणका लागि हुन्छ । यो डर होइन । यो शिक्षा हो किनकि जब राष्ट्रहरू बमको सट्टा सम्झौताबाट लड्छन् सम्पत्तिको नियम पनि बदलिन्छ ।
२१औं शताब्दी विमानवाहक युद्धपोतले तय गर्ने छैन । यो तय हुनेछः कसले सम्झौता लेख्छ, कसले तिनलाई कार्यान्वयन गराउँछ र सरकार ढले पनि कसले भुक्तानी पाउँछ भन्ने कुराले । धेरै मानिस राजनीतिक बहस गर्छन् तर धनीहरू प्रणाली हेर्छन् । र, प्रणालीहरू हाम्रो आँखै अगाडि बदलिँदै छन् । (रोबर्ट कियोसाकीको फेसबुकबाट)

