डोल्पाको प्रजिअमा जुनु हमाल ढकाल


काठमाडौं । गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाएर खटाएको छ ।
सोमबार मात्रै एक सूचना जारी गर्दै गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पदस्थापना गरेको हो । हिमाली जिल्ला डोल्पाले इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको छ ।
कर्णाली प्रदेशकै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रुपमा जुनु हमाल ढकालले डोल्पा जिल्लाको जिम्मेवारी प्राप्त गरेकी छन । प्रजिअ ढकाल यसअघि गृह मन्त्रालयमै कार्यरत थिइन् ।

मन्त्रालयले हालका प्रजिअ भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–४, मा जन्मेकी ढकाल साविक कर्णाली निवासी प्रमुख जिल्ला अधिकारी हुने पहिलो महिला हुन् ।
नवनियुक्त डोल्पाका प्रमुख जिल्ला अधिकारी हमाल २०६९ सालको शाखा अधिकृत हुन् । उनले २०८१ साउनमा उपसचिव पदमा नाम निकाल्न सफल भएकी थिईन् । यसअघि लगातार तीन पटक लिखित परीक्षमा सह–सचिवमा नाम निकाल्दा समेत अन्तर्वार्तामा भने सफल हुन सकेकी थिइनन् ।
दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्ला डोल्पामा प्रशासनिक नेतृत्व सम्हाल्नु आफैंमा महत्वपूर्ण जिम्मेवारी मानिन्छ । सरोकारवालाले महिला सिडिओको नियुक्तिलाई सकारात्मक रुपमा लिँदै, डोल्पाको विकास, सुशासन र नागरिक–मैत्री प्रशासनमा नयाँ ऊर्जा थपिने अपेक्षा गरेका छन ।
गृह मन्त्रालयका अनुसार ८ जना उपसचिवको सरुवा गरिएको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । ती मध्य ५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर समेत भएका हुन् ।

