कामना सेवा विकास बैंकद्वारा विपन्न बालबालिकालाई न्यानो कपडा


सुर्खेत । कामना सेवा विकास बैंकले सुर्खेतको वीरेन्द्रनगरका विपन्न तथा सीमान्तकृत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकले आज वीरेन्द्रनगर स्थित कोपिला माध्यमिक विद्यालयका कक्षा १ देखि ५ कक्षाका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सुर्खेत शाखाले बालबालिकालाई न्यानो कपडासँगै विद्यार्थी प्रशिक्षण कक्षका लागि ८० थान कुर्चीसमेत विद्यालयलाई हस्तान्तरण गरेको छ ।

पर्सेनीका विद्यार्थीको उज्जवल भविष्य निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई न्यानो कपडासँगै कुर्ची वितरण गरिएको बैंकका सुर्खेत शाखा प्रबन्धक सुनिल आचार्यले बताए ।

उनले उक्त सामाग्रीहरु बैंकका कर्मचारी गणेशबहादुर रावल, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य ललित डाँगी, रत्नाकुमारी महतरा, बलकौरा कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रा पौडेल, निवर्तमान प्रधानाध्यापक दुर्गा शाक्य र नवनियुक्त प्रधानाध्यापक टेकनारायण उपाध्यायको रोहवरमा हस्तान्त्ररण गरिएको जानकारी दिए ।

अभिभावकको बाक्लो उपस्थिति रहेको न्यानो कपडा तथा कुर्ची हस्तान्तरण कार्यक्रम कोपिला माविका शिक्षक श्याम वलीले सञ्चालन गरेका थिए । यता विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायले न्यानो कपडा र कुर्ची सहयोगका लागि धन्दवाद दिँदै आगामी दिनहरु समेत निवर्तमान प्रधानाध्यापक दुर्गा शाक्य र बैंकको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।
उनले विद्यालयलाई विभिन्न समयमा दातृ निकायको सहयोग भित्र्याउन निवर्तमान प्रधानाध्यापक दुर्गा शाक्यले महत्वपूर्ण भूमिका खेलेको जानकारी समेत दिए ।


