निर्वाचन देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न कर्णालीका मुख्यमन्त्री कँडेलको आग्रह


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन ।
कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको बुधबारदेखि सुर्खेतमा शुरु भएको अर्धवार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम नरोक्न कर्मचारीलाई आग्रह गरेका हुन् ।
‘हाम्रोमा वाहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुदैन्,’ उनले भने, ‘मन्त्रालय अन्तर्गतका कामहरुको समय तालिका निर्माण भएपनि तालिका अनुसार कामले गति लिन सकेका छैनन् ।’ उनले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलताले परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिए ।
विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रर्दशन गर्नु पर्नेमा जोड दिए । निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उनको भनाइ थियो ।


मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको औल्याए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा प्रमुख सचिव विरेन्द्र कुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।


