राष्ट्रिय वाणिज्य बैंकद्वारा सुर्खेतका विद्यार्थी तथा शिक्षकलाई वित्तीय साक्षरता


सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालयले सुर्खेतको बराहताल स्थित जनज्योती माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो ६१औं वार्षिक उत्सवको अवसर पारेर विहीबार विद्यालय परिसर हातामा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय प्रमुख प्रबन्धक दुष्यन्तराज निरौलाले बैंकिङ सेवा प्रवाह, कर्जा प्रवाह प्रक्रिया, डिजिटल बैंकिङको प्रयोग तथा सुरक्षित वित्तीय कारोबारका विषयमा जानकारी दिए ।
उनले विद्यार्थीलाई बचत गर्ने बानी, डिजिटल माध्यममार्फत बैंकिङ सेवा उपयोग गर्ने तरिका तथा आधुनिक बैंकिङ प्रणालीबारे सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उक्त अवसरमा प्रादेशिक प्रमुख निरौलाले विद्यालयलाई मायाको चिनो स्वरुप विद्युतीय वाटर डिस्पेन्सर हस्तान्तरण समेत प्रदान गरे ।

वित्तीय साक्षरता विद्यार्थीका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालयका सहायक प्रधानाध्यापक कमलराज आचार्यले यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको औल्याए । उनले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममै राख्नुपर्नेमा जोड दिए ।
बैंकका प्रादेशिक कार्यालयका सूचना अधिकारी जयप्रकाश बरालले बैंकको वर्तमान अवस्था एवं बैंकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारे । कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता छनौटलगायतका विषयमा विद्यार्थी तथा शिक्षकहरुले जिज्ञासा राखेका थिए ।
बैंकका प्रादेशिक कार्यालयका अधिकृत कलबहादुर बुढा, विद्यालयका शिक्षक–कर्मचारी तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।


