सुर्खेतको लघु औद्योगिक ग्राममा शिशु स्याहार तथा स्तनपानसँगै प्राथमिक उपचार कक्ष सञ्चालन


सुर्खेत । लघु औद्योगिक ग्राम सुर्खेतले शिशु स्याहार तथा स्तनपानसँगै प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
शुक्रबार वीरेन्द्रनगरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, समावेशी विकासमा प्राविधिक विज्ञ (ईडब्लुपीएन÷आईएलओ नेपाल प्रतिनिधि) ओक्साना लिप्कानु र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक देवीराम सापकोटाले स्तनपान तथा शिशु स्याहार कक्षसँगै प्राथमिक उपचार कक्षको उद्घाटन गरेका छन् ।
लघु औद्योगिक ग्राममा काम गर्ने श्रमिकसँगै ग्राममा आउने सेवाग्राही तथा कर्मचारीको सहजताका लागि स्तनपान तथा शिशु स्याहारसँगै प्राथमिक उपचार कक्षको स्थापना गरिएको हो । ग्राममा आउने शिशुसहितका सेवाग्राही, ग्राममा कार्यरत श्रमिक तथा महिला कर्मचारीको सहजताका लागि ग्राम परिसरमै प्रदेशको सामाजिका विकास मन्त्रालयसँगै विभिन्न दातृनिकायको सहयोगमा स्तनपान तथा शिशु स्याहार कक्षसँगै प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याइएको ग्रामका अध्यक्ष सुमननाथ योगीले बताए ।
उनले औद्योगिक ग्राममा कार्यरत श्रमिकलाई काम गर्ने दौरानमा कुनै सामान्य चोटपटक लागेमा अब ग्राम परिसरमै निःशुल्क प्राथमिक उपचार पाउने व्यवस्था मिलाईएको जानकारी दिए ।

‘औद्योगिक ग्राममा कार्यरत महिला श्रमिकका लागि स्तपान तथा शिशु स्याहार नहुँदा थुप्रै प्रकारका समस्या थिए,’ उनले भने, ‘अब स्तपान तथा शिशु स्याहारसँगै प्राथमिक उपचारको व्यवस्था भएपछि उत्पादन बृद्धिसँगै काममा सहजता आउनेछ ।’ कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष ज्योत्सना श्रेष्ठले औद्योगिक ग्राममा कार्यरत महिला श्रमिकका लागि स्तपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा आएसँगै अब सुरक्षित तथा पूर्ण स्तनपानका लागि आमा तथा बालबालिकालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले काम गर्ने दौरान सामान्य विरामी हुँदा अस्पतालनै दौडिनुपर्ने बाध्यताको अन्त्य गर्दै ग्राम परिसरमै प्राथमिक उपचारको व्यवस्थाले काम गर्न श्रमिकलाई थप सहज हुने बताईन् । समावेशी विकासमा प्राविधिक विज्ञ (ईडब्लुपीएन÷आईएलओ नेपाल प्रतिनिधि) ओक्साना लिप्कानुले औद्योगिक ग्राममा हुन सक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य जोखिमलाई न्यूनिकरणका लागि सञ्चालनमा ल्याईएको प्राथमिक उपचार केन्द्रले अस्पतालसम्म पु¥याउन सहजता हुने बताईन् ।

उनले महिला श्रमिकको हितका लागि प्राथमिक उपचारसँगै स्तपान तथा शिशु स्याहार कक्षले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले नेपाल जस्तो भौगोलिक विविधता रहेको देशमा आस्कमिक दुर्घटना वा स्वास्थ्य समस्या आईपर्दा प्राथमिक उपचार केन्द्र वरदान सावित हुने जिकिर गरे ।
उनले महिला श्रमिकको हितलाई विशेष ध्यानमै राखेर महासंघको समन्वय तथा पहलमा प्राथमिक उपचारसँगै स्तपान तथा शिशु स्याहार कक्षले मूर्तरुप पाएको जानकारी दिए ।
कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक देवीराम सापकोटाले प्राथमिक उपचारसँगै स्तपान तथा शिशु स्याहार कक्षलाई गुणस्तरीय एवं भरपर्दो बनाउन सबै निकायको सहयोग निरन्तरताको अपेक्षा व्यक्त गरे ।


