कर्णालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई सिटका चार जना प्रतिस्पर्धामा


सुर्खेत । आज भईरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णालीबाट दुई सिटका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म तय भएको मतदान कार्यक्रम अन्तर्गत यो समाचार तयार पारुन्जेल ८५ प्रतिशत मत खसिसकेको सुर्खेत जिल्ला न्यायाधीस तथा निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।
कर्णाली प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि भईरहेको निर्वाचनमा तीन दलबाट ४ जना प्रतिस्पर्धामा छन् । महिला क्लस्टरतर्फ नेकपा एमालेबाट मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अन्जु महतरा चुनावी प्रतिस्पर्धामा छन् ।


त्यस्तै अन्य क्लष्टरतर्फ नेपाली काँग्रेसबाट ललितजंग शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बुद्धिप्रसाद शर्मा प्रतिस्पर्धामा छन् । कर्णालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले साझा उम्मेदवार उठाएका हुन् ।
एमालेबाट महिलातर्फ मीनासिंह रखालको उम्मेदवारी परेको छ भने अन्यतर्फ नेपाली कांग्रेसका ललितजंग शाहीको उम्मेदवारी परेको छ । ४० सदस्यीय प्रदेशसभा र ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशको मतभारअनुसार नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन बलियो देखिन्छ ।
राष्ट्रियसभाका लागि कर्णालीमा प्रदेशसभाका ४० र ७९ वटा स्थानीय पालिकाका प्रमुख/उपप्रमुख– १५८ गरी कुल १ सय ९८ जना मतदाता छन् भने ५ हजार १ सय २२ मतभार रहेको छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहेको छ ।


