डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने


काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको हो ।
डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।

विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ ।
डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ ।
सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह र पानी निकास नहर निर्माण गरिनेछ । आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक नौ सय ३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ ।
आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजारबराबर रहनेछ । प्रतिमेगावाट लागत रु २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ ।

