‘पश्चिम सुर्खेतका मतदातासँग अध्यक्ष देवकोटाले भने : म तपाईहरुकै साथमा हुनेछु, काम गर्ने अवसर दिनुहोला’

सुर्खेत । नेपाल एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सुर्खेत क्षेत्र नंं २ का काम गर्ने अवसर दिन मतदातालाई आग्रह गरेका छन् ।

चुनावी अभियानका क्रममा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका पुगेका देवकोटाले आफू नागरिकको समस्या र जनजीविकाका सवालमा निरन्तर सक्रिय रहेको बताउँदै जनपक्षीय कानुन निर्माणका लागि संसदमा जान चाहेको बताए । ‘म निरन्तर तपाईहरुकै साथमा हुनेछु, मतदातासँगको भेटघाट तथा अन्तरक्रियामा उनले भने, ‘काम गर्ने अवसर दिनुहोला ।’

प्रतिनिधि सभा सुर्खेत क्षेत्र नं. २, का उम्मेदवार समेत रहेका देवकोटाले संसदमा जाने अवसर पाए जिल्लाको समग्र विकाससँगै राम्रो नीति निर्माणका लागि काम गर्ने प्रतिबद्धता जनाए । मतदातासँग भेटघाट तथा पार्टीका विस्तारित बैठकहरुमा सहभागि हुन उनी आइतबारदेखि पश्चिम सुर्खेतका विभिन्न गाउँ केन्द्रित छन् ।

उनले आइतबार र सोमबार त्यहाँका युवा, ज्येष्ठ नागरिकलगायत आम–मतदातासँग साक्षात्कार गरेका हुन् । अध्यक्ष देवकोटाले मतदातासँगको भेटले आफू निकै उत्साहित र ढुक्क भएको बताए । एमाले सुर्खेतले आसन्न निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएको छ । सोही क्रममा सोमबार चौकुने गाउँपालिकाको वडा नं. ४ मा पार्टी कमिटीको आयोजनामा उम्मेदवारसहितको विस्तारित बैठक तथा छलफल सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष रमेश बिसीको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, बैठकमा प्रदेश कमिटी सदस्य हरि खनाल, प्रदेश कमिटी सल्लाहकार सदस्यहरु धीरबहादुर शाही र ताराकेशर गौतम, जिल्ला उपाध्यक्ष मोहन बडुवाललगायतको सहभागिता थियो ।

नेताहरुले बैठकलाई सम्बोधन गर्दै चौकुनेमा एमालेको संगठन सुदृढ गर्दै आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउने बलियो आधार तयार गर्नेगरी चुनावी अभियानलाई तीव्रता दिन सुझाएका थिए ।

सोही क्रममा पश्चिम सुर्खेतका जनप्रिय एमाले नेता स्वर्गीय काशीराम देवकोटाको अभाव यति बेला खट्किरहेको त्यहाँ पुग्ने एमालेजनहरुको भनाइ थियो ।

Translate »