जनतामा एमालेप्रति विश्वास र समर्थन बढ्दो : अध्यक्ष देवकोटा


सुर्खेत । नेकपा (एमाले) सुर्खेतका अध्यक्ष एवम् प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणि देवकोटाले गाउँ–गाउँमा पुग्दा जनतामा एमालेप्रति विश्वास र समर्थन झनै बढ्दो क्रममा देखिएको बताएका छन् ।
आज (शुक्रवार) सुर्खेतको पञ्चपुरीमा आयोजित पार्टीको निर्वाचन क्षेत्र समन्वय कमिटीको विस्तारित बैठक तथा कार्यकर्ता भेलामा उनले सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया र वास्तविक जनताको मनस्थिति फरक रहेको बताएका हुन् ।
‘गुगलमा जे देखिए पनि भूगोलमा नेकपा (एमाले) ले जित्ने अवस्था छ,’ उनले भने । घरदैलो अभियानका क्रममा जनताको सुख–दुःख नजिकबाट बुझेको उल्लेख गर्दै देवकोटाले आफू पार्टीको मात्र नभई गाउँ घरका जनताको सुख दुःख बुझ्ने उम्मेदवार भएको बताए ।

उनले एमालेका पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टीको नीति र नेतृत्व देशको समृद्धिका लागि आवश्यक रहेको जिकिर गरे । देवकोटाले कृषि उत्पादन र पर्यटनमार्फत आय–आर्जन बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आफू किसानको छोरा भएकाले श्रम र उत्पादनसँग परिचित रहेको बताए ।
‘जनताको घरदैलोमा पुगेर समस्या बुझेको छु, त्यसलाई व्यवहारमै सम्बोधन गर्छु,’ उनले भने । देवकोटाले आफूलाई नयाँ शक्ति भन्नेहरूले समाजमा उत्तेजना, घृणा र निराशा फैलाइरहेको समेत बताए ।
उनले निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्ने धारणा राखे । देश, जिल्ला र गाउँ–टोलको विकासका लागि एमालेको जित आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा केन्द्रीय नेतादेखि स्थानीय अगुवा कार्यकर्तासम्मको उपस्थिति रहेको थियो ।

