टी–२० विश्वकप : नेपाल सुपर ८ को दौडबाट बाहिरियो


काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ भएसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरिएको छ ।
भारतको मुम्बईस्थित वाङखेडे स्टेडियममा आइतवार भएको खेलमा नेपाल दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । हारसँगै समूह सीमा रहेको नेपाल अंकतालिकामा अंकविहीन हुँदै पुछारमा छ । जारी प्रतियोगिताका तीनओटै खेल जितेको वेष्ट इन्डिज भने सुपर ८ मा छनोट भएको छ । वेष्ट इन्डिजको ६ अंक छ ।
१३४ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १५.२ ओभरमै १ विकेटको क्षतिमा जित हासिल ग¥यो । टिमका लागि कप्तान साई होपले अविजित ६१ रन बनाउँदा सिम्रन हेटमायरले ४६ रनमा नटआउट रहे । त्यसअघि ब्रेन्डेन किङ २२ रन बनाएर आउट भएका थिए । उनलाई नन्दन यादवले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल शुरुआती ओभरमा धरमराएको थियो । खेलको ६.३ ओभरमा नेपालले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यो अवस्थामा नेपालको इनिङ दीपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । उनले ४७ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५८ रन बनाएपछि नेपालले १३३ रन जोड्न सफल भएको थियो ।
नेपालको इनिङ उकास्न सोमपाल कामीले पनि महत्त्वपूर्ण योगदान दिएका थिए । १५ बल खेलेका उनले ४ चौकाको मद्दतमा २६ रन बनाएका थिए । नेपालका लागि लोकेश बमले १३ गुल्सन झा र आशिफ शेखले समान ११ रनको योगदान दिएका थिए ।
बलिङमा वेष्ट इन्डिजका जेसन होल्डर एक्लैले ४ विकेट लिएका थिए । जारी विश्वकपमा नेपाल यसअघि इङल्याण्डसँग ४ रनले र इटालीसँग १० विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेल आगामी मंगलवार स्कटल्याण्डसँग खेल्नेछ ।

